शहरी विकास तथा भवन निर्माण विभागको स्थापना

भौतिक योजना कार्यान्वयन ऐन, २०२९ बमोजिम तत्कालीन आवास, भवन तथा भौतिक परियोजना विभाग अन्तर्गत क्षेत्रीय विकासको अवधारणालाई परिष्कृत गर्दै नेपाल सरकारको मिति २०४५।०४।२६ को निर्णयानुसार आवास तथा शहरी विकास विभाग मातहत पोखरा लगायत पाँच वटा क्षेत्रीय निर्देशनालय तथा जिल्ला कार्यालयहरूको स्थापना गरिएको थियो। व्यवस्थित शहरी विकास तथा आवास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्य अनुरूप नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०५४।०३।०५ को निर्णयानुसार मिति २०५४।०४।०१ देखि जिल्ला कार्यालयहरूलाई आवास तथा शहरी विकास कार्यालयमा रूपान्तरण गरिएको थियो। त्यसैगरी व्यवस्थित आवास तथा शहरी विकास तथा उपयुक्त भवन निर्माण सम्बन्धी कार्यमा रहेको दोहोरोपन हटाई एउटै निकायमार्फत सञ्चालन गर्ने उद्देश्यले समान उद्देश्य, कार्यक्षेत्र तथा जनशक्ति भएका साविकका भवन विभाग र आवास तथा शहरी विकास विभागलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०५७।०३।२६ को निर्णयानुसार एकीकरण गरी हालको शहरी विकास तथा भवन निर्माण विभागको स्थापना भएको थियो ।

सघन शहरी तथा भवन निर्माण आयोजनाको स्थापना

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२।०६।०९ गतेको निर्णयानुसार शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरूको पुनःसंरचना गरी गोरखा, लमजुङ र मनाङ जिल्लालाई कार्यक्षेत्र तोकी साविक संघीय आयोजना कार्यान्वयन इकाई, कास्कीबाट छुट्ट्याई सघन शहरी तथा भवन निर्माण आयोजना, गोरखाको स्थापना गरिएको हो । स्थापना पश्चात् उक्त तीन जिल्ला: गोरखा, लमजुङ र मनाङ अन्तर्गतका वार्षिक स्वीकृत कार्यक्रम तथा आयोजनाहरू यस कार्यालयमार्फत कार्यान्वयन हुँदै आएका छन् ।